मनोरञ्जन

सम्बन्धलाई बलियो बनाउने सुरक्षाको टिप्स



काठमाडौँ, १ चैत । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिएकी उनी अहिले टेलिभिजन रियालिटी द शो पोएट आइडलको छायांकनमा व्यस्त भएकी छन् ।

त्यसक्रममा केही मिडियासँग कुरा गर्दै उनले सम्बन्धलाई बलियो कसरी बनाउन सकिन्छ भन्नेबारेमा टिप्स दिइन् । बेस्ट पार्टनरसिप बनाउन एकअर्काप्रति सम्मान र साथ दिनसक्नुपर्ने उनको सुझाव छ । ‘हरेक ठाउँमा लभले काम नगर्न सक्छ । तर सम्मान चाहिं हुनुपर्‍यो । कहिलेकाहीं कामकाजमा हात बढाउने कुराहरु, सहयोग भयो भने बेस्ट पार्टनरसिप हुन्छ जस्तो लाग्छ,’ उनले भनिन् ।

सम्बन्धलाई बलियो बनाउने कुरामा आफ्ना अनुमान पनि फेल खाएको बताउँदै उनले भनिन्, ‘म पनि यी कुरामा फेल खाइरहेकी छु । यो गरम त्यो गरम भन्ने छैन । राम्रो गरौं भन्दा भन्दै पनि कति कुराहरु मिलिराखेको हुँदैन सम्बन्धमा । धैर्यता र एकअर्कालाई सुन्न सक्नुपर्‍यो । दुवै जनाको सुन्न सक्ने क्षमता राम्रो हुनुपर्‍यो । जज गर्नुभएन । स्वतन्त्र रुपमा प्यासन फलो गर्न दिनुपर्छ ।’

दम्पतीले एकअर्काको रुचि र चाहनालाई साथ दिनुपर्ने र यसले सम्बन्ध बलियो बन्ने उनको तर्क छ । ‘पुरुष होस् या नारी, एकअर्काको प्यासनलाई लिएर इम्पावर्ड गर्दियो भने सम्बन्ध बलियो हुन्छ । आशा छ अहिलेसम्म यसले काम गरिराख्या छ,’ उनले भनिन् । पछिल्लो समय केही कलाकारको वैवाहिक जीवनमा दरार आएको प्रसंगमा उनले डिभोर्स आपसी सहमतिमा हुने र यसलाई बिग इस्यु बनाउन नहुने धारणा राखिन् ।