काठमाडौँ, ३ फागुन । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार रहेका कपिलवस्तकोु भृकुटी नगरपालिका–७ का २३ वर्षीय शिवशरण चौधरी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनी ०७६ साउन ७ गते धारिलो हतियारबाट कपिलवस्तुकै बुद्धभूमि नगरपालिका–४ का ६६ वर्षीय गंगाराम थारुको हत्या गरेको घटनामा संलग्न थिए । घटनापछि फरार रहेका उनलाई एनसीबी काठमाडौंको अनुरोध र एनसीबी अबुधाबीको सहयोगमा यूएईबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् उनी फरार भई यूएईमा बसेको अनुसन्धानका क्रममा खुलेको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ०७९ भदौ १४ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । रेड नोटिस एनसीबी अबुधाबीलाई जानकारी गराइएको थियो । उनलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएको थियो ।
गएको भदौ २१ गते एनसीबी अबुधाबीले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो । विभिन्न प्रक्रिया पुर्याई एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार (हिजो) नेपाल ल्याएको हो । उनलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोरुसिंगेमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्