राजनीति

व्यवसायमैत्री कानुन निर्माणका लागि तयार छु : सभामुख घिमिरे



काठमाडौँ, ४ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानुन निर्माणका लागि आफू सधैँ तयार रहेको बताएका छन् ।

आज ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख घिमिरेले उद्योग व्यवसायमैत्री कानुन निर्माणका लागि राजनीतिक दल र सांसदहरूसँग सहजीकरण गर्न पनि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, “उद्योग व्यवसायको प्रवद्र्धनका लागि नेपालका जनप्रतिनिधिहरुको संस्था संसद हो । त्यो संसदले यहाँ आएर ऐक्यवद्धता जनाउनु पर्दछ । तपाईंहरूको समस्यालाई सुन्नु पर्छ भनेर म यहाँ आएको पनि तपाईंहरूलाई भन्न चाहन्छु,” “मुलुकभित्र नै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्नका लागि उद्योगी, व्यवसायीहरुको योगदान महत्वपूर्ण छ । त्यसका लागि कानुनको अभाव रहेको भए वा व्यवसाय मैत्री कानुनहरू बनाउनु पर्दा तपाईंहरूको सुझाव लिन निर्धक्क मलाई भन्न सक्नुहुनेछ ।”