अर्थ

नेपालको सार्वजनिक ऋण २० खर्ब ७९ अर्ब रुपैयाँ नाघ्यो



काठमाडौँ, ४ चैत । नेपालको सार्वजनिक ऋण ३ दशमलव ३९ प्रतिशतले बढेर २० खर्ब ७९ अर्ब ७२ करोड रुपैयाँ पुगेको हो ।

साउनदेखि फागुनसम्म सरकारले ८५ अर्ब रुपैयाँ आन्तरिक र ६२ अर्ब रुपैयाँ वैदेशिक गरी १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिएको छ । यस्तै ८ महिनामा सरकारले ६२ अर्ब आन्तरिक ऋण र १८ अर्ब बाह्य ऋण गरि ८० अर्ब रुपैयाँ चुक्ता गरेको छ । ८ महिनामा १ खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिँदा पनि ८० अर्ब रुपैयाँ चुक्ता गरेकाले सरकारको ऋण ६८ अर्ब रुपैयाँले मात्रै बढेको हो ।

कुल ऋणमध्ये १० खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक र १० खर्ब ६९ अर्ब ७८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ । चालु आर्थिक वर्षको बजेट समीक्षामार्फत सरकारले १ खर्ब ७० अर्ब रुपैयाँ वैदेशिक र २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ ।