काठमाडौँ, ७ चैत । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ ।
आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न भनेको छ । तनहुँ १ र बारा २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन चाहने दलले आयोगमा दर्ता गर्नुपर्ने हुन्छ । आयोगले चितवन २, बारा २ र तनहुँ १ मा २०८० वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो । बारा २ मा निर्वाचित तत्कालीन जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिएका थिए । यस्तै तनहुँ १ बाट निर्वाचित तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पनि सांसदबाट राजीनामा दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्