अर्थ

भारुको विनिमय दरमा विचलन



काठमाडौँ, ८ चैत । विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगञ्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ । केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपियाँ भारु लिँदा ६ रुपियाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपियाँमा ५ रुपियाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपियाँ बराबर भारतीय एक सय हुन्छ ।

सीमा क्षेत्रका नेपाली बजारमा भारु बढी भित्रिएपछि अभाव समाप्त हुनुका साथै भारतीय नोटको माग पनि घटेकाले कम मूल्यमै भारुको लेनदेन हुन थालेको स्थानीय व्यवसायी सीताराम गुप्ताले बताए । उनले विगतमा स्थानीयले १६३ देखि १६८ रुपियाँसम्म तिरेर सय रुपियाँ लिने गरेकोमा हाल १५५ रुपियाँमै सय रुपियाँ भारु पाउन थालेको बताए । तस्करी र हुन्डीबाट मागभन्दा बढी भारु नेपाल भित्रिँदा केही महिनायता सीमावर्ती बजारमा भारु कमजोर भएको स्थानीय व्यवसायीको आकलन छ । सुन तस्करी र नेपालगञ्जका क्यासिनोका कारण पनि बजारमा भारु नोट आपूर्ति बढेको हुन सक्ने अर्का व्यवसायी जावेद राईले बताए ।

“अहिले नेपाली रुपियाँ बलियो हुनुमा बजारको मागभन्दा बढी अवैध रूपमा भारु भित्रिनु मुख्य कारण हो,” राईले भने । केही महिनाअघिसम्म नेपाल राष्ट्र बैङ्कको नेपालगञ्जस्थित शाखा कार्यालय र त्यहाँका मुद्रा सटही काउन्टरमा भारतीय मुद्रा किन्नेको भीड लाग्थ्यो । माग धेरै हुँदा त्यति बेला भारतीय मुद्राको अभाव हुन्थ्यो र बढी कमिसन दिएर मात्र बजारमा सटही गर्न पाइन्थ्यो । तर अहिले अवस्था फेरिएको छ । अहिले भारु बजारमा धेरै भित्रिएपछि भारु लिनेहरू नभेटिँदा बिक्री भाउ घटेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।