समाचार

भारतमा देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार



काठमाडौँ, ९ चैत । मानव तस्करीको सिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरूको उद्धार गरिएको छ । बिहीबार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरूलाई उद्धार गरिएको हो ।

उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखन विरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, किन इन्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो । यसलाई मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका १० जना महिलाहरूलाई उद्धार गरी मानव बेच बिखन बिरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो ।

उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाडौँ, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ । उद्धार गरिएकी मध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्‍याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्धामा लाग्नुपर्ने भनिएको बताए ।