राजनीति

जहाँ एमालेले छोयो, त्यहाँ सफलता हासिल गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत



तनहुँ, ९ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेको अगाडी अब कुनै पनि कुराको हार भन्ने शब्द नै नहुने बताउनुभएको छ । उहाँले दृढताका साथ एकतावद्ध भएर लागेर आगामी निर्वाचनमा एमालेले एक्लो बहुमत हासिल गर्ने गरी अभियान चलिरहेको बताउनुभयो ।

राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेका सवै जनसंगठनहरुले गाउँ गाउँसम्म संगठनहरुलाई परिचालित गर्ने हो भने जनताले एमालेलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । युवा तथा विद्यार्थी एमालेको पक्षरमा रहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले प्रमाणीत गरेको उल्लेख गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमालेका जनवर्गीय संगठनको सक्रियता र पार्टीको ग्रास रुट अभियानले आगामी निर्वाचनमा एमालेलाई बहुमत दिने वातावरण सिर्जना भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘योजना बनाएर लागौं त, हाम्रो अगाडी अब हार भन्ने शब्द छैन । ‘जहाँ एमालेले छोयो, त्यहाँ सफलता’ हासिल गर्नुपर्छ । त्यो देश र जनताको हितमा हुनुपर्छ । राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा अभियान चलाएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु पहिलो संगठन बन्न सफल भयो । अन्य संगठनलाई धेरै सिट पछाडी पार्दै अनेरास्ववियु नेपाली विद्यार्थीहरुको संगठन बन्यो । त्यसैले पार्टीको ग्रास रुट अभियान पनि जनताको दुःख सुखको सारथी, सम्मान, सदस्यता थप गर्ने तथा पार्टी प्रवेश अभियान चलाइरहेको छ । सो अभियानले देश र जनताको अवस्था र आवश्यकता बुझेको छ, योगदान पुर्याएका जनतालाई सम्मान गरेको छ, जनताको जिम्मेवारी लिएको छ । जनता हामीप्रति वचनबद्ध छन् । त्यसैले आगामी निर्वाचनमा एमालेलाई बहुमत आउने छ । त्यसपछि देशले जित्नेछ, जनताको जित हुनेछ ।’