राजनीति

मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुनजस्तो भएँ : मन्त्री किराती



काठमाडौँ, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुनजस्तो भएको बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित अमिन नेसनल म्युजिक अवार्डमा बोल्दै उनले मन्त्री बनेपछि झनै कामको चाप बढी हुने अनुभव गरिरहेको बताए ।

उनले भने, “म यो देशमा १० वर्ष सांसद भएर बिताइसकेको छु । मलाई लाग्थ्यो, सांसद हुँदाखेरि म धेरै सानोसानो काममा हिँड्थेँ । यतिसम्म कि मान्छेहरूको बसको टिकटमा समस्या समेत पुग्थेँ, अनि लाग्थ्यो, मन्त्री भएँ भने फुर्सद हुन्छ होला । ठूलोठूलो काम गर्नुपर्छ, ठूलो काम थोरै हुन्छ, अलि फुर्सद हुन्छ होलाजस्तो लाग्थ्यो,” “तर, म मन्त्री भएको ६५ दिन हाराहारी हुँदै छ । लाग्छ, म त सोह्रश्राद्धको बाहुनजस्तो भएँ । हतारहतार सिधा उठाएर हिँडिहाल्नुपर्ने । त्यसको निम्ति म क्षमाप्रार्थी छु । अन्तिमसम्म कार्यक्रममा बस्न सकिनँ । मानिसको प्राचीन विधा गीत–संगीत हो । प्रेमगीत त आमाबाट सिर्जित भयो । राजनीतिज्ञ र क्रान्तिकारीहरू झनै धेरै प्रेमी हुन्छ । जसले प्रेम गर्न जान्दैन, त्यसले त देश पनि चलाउन जान्दैन । तर, गीतजस्तो जीवन हुँदैन । जीवन र गीतको व्यावहारिक तालमेल धेरै टाढा छ ।”