अर्थ

यार्सागुम्बाको निर्यात बढ्यो



काठमाडौँ, १३ चैत । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यार्सागुम्बाको निर्यात बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ८ महिनाको तुलनामा चालू आर्थिक वर्षको ८ महिनाको तुलनामा यार्सागुम्बाको निर्यात बढेको हो । चालू वर्षको ८ महिना (साउन–फागुन) सम्मको अवधिमा नेपालबाट ३६ करोड ३४ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । यसअवधिमा नेपालबाट ५६४ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

जबकी, गत आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट २४ करोड ५८ लाख १७ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट जम्मा ३९७ किलोग्राम यार्सागुम्बा निर्यात भएको विभागको तथ्यांक छ । नेपालबाट विश्वका एक दर्जन देशमा यार्सागुम्बा निर्यात हुने गरेको देखिएको छ । ८ महिनाको अवधिमा नेपालबाट कम्बोडिया, चीन, फ्रान्स, जर्मनी, हङकङ, कोरिया, इटाली, मलेसिया, बेलायत, अमेरिका र भियतनाममा यार्सागुम्बा निर्यात भएको छ ।