राजनीति

मतदाता भन्छन् ‘हाम्रा नभनी राम्रालाई मतदान गरौँ’



पाल्पा, २९ जेठ । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् ।

राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन् ।
बजार, चोक, चौतारीलगायत विभिन्न स्थानमा दिनहुँजसो मतदाता आफैँ नै राम्रा व्यक्तिको पहिचान गरेर मात्र यस पटकको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्न अपिल गरिरहेका छन् ।

यसभन्दा अगाडिका निर्वाचनमा दलको दबाबमा परेर मतदान गरेर विजयी भएका नेतृत्वकर्ताले गाउँको विकासमा वास्ता नगरेका कारण यस पटक भने मतदाता आफैँ विकासशील, सक्षम र गाउँका समस्या समाधान गर्ने उम्मेदवारको खोजीमा छन् ।

सत्तामा बस्नका लागि सधैँ चुनावी समयका बेला गाउँ पस्ने नेता, कार्यकर्तालाई रामपुरका मतदाताले यस पटक गाउँ नफर्कन पनि आग्रह गरेका छन् । सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाउँमा विदेशी देशसँग तुलना गरेर विशाल सहर बनाउने योजना लिएर चुनावका बेलामात्र मतदातासँग हात नजोड्न उनीहरुको अपिल छ ।

यसभन्दा अगाडि दलियगत हिसाबले मतदान गरियो, यस पटक व्यक्ति विशेष हेरेर मात्र मतदान गर्ने सोचमा रहेको रामपुरका मतदाता सरस्वती सोमै बताइन ।

पहिला पहिला पार्टीगत रुपमा मतदान गरौँ भनेर पार्टीको झन्डा बोकेर हिँडियो, अब पार्टीका झन्डा बोकेर होइन, सक्षम उम्मेदवार खोजी खोजी मतदान गर्ने अभियानमा जुटेका छौँ उनले भने ।

चुनावको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरु पार्टीका झन्डा बोकेर कार्यकर्तासहित गाउँगाउँमा चुनावी माहोलमा छन् त कोही सक्षम र योग्य राम्रा व्यक्तिलाई मतदान गर्ने तरिकाबारे मतपत्र बोकेर गाउँगाउँमा पुगेका छन् ।