Banner News

एउटै वडाबाट तीनजना नगरपालिका प्रमुखका उम्मेदवार



खोटाङ, २९ जेठ । आगामी असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खोटाङमा नगरपालिका प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख पदका उम्मेदवार बनेका हुन् ।

नेकपा एमाले बाट दीपनारायण रिजाल, नेकपा माओवादी केन्द्र बाट दुर्गाजयन्ती राई र राप्रपाबाट निशान राई प्रमुख पदका लागि उम्मेदवार बनेका छन् । एउटै वडाबाट तीनजना प्रमुख पदका उम्मेदवार बनेपछि सबैको ध्यान वडा नं ६ मा परेको छ ।

यद्यपि, एउटै वडामा तीनजना उम्मेदवार देखिए पनि जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १२ दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

एमाले उम्मेदवार रिजाल विद्यार्थीबाट राजनीति सुरु गरी पछिल्लो समय गैरसरकारी संस्था चलाएर बसेका थिए । माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी राई २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक कोटाबाट सभासद् बनेकिथिइन भने २०७० सालको संविधानसभाको चुनावमा जिल्लाको १ नं क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार भई पराजित भएका थिए ।

राप्रपाबाट उम्मेदवार बन्नुभएका राई राप्रपाका सक्रिय सदस्य तथा राष्ट्रिय पञ्चायतका उपाध्यक्ष पर्शुराम राईका छोरा हुनुहुन्छ । आ–आफ्नो पार्टीले टिकट दिएपछि तीनैजना उम्मेदवार आफ्नो पक्षमा बहुमत जुटाउन जनताको घरदैलोमा पुगिरहेका छन् ।