Banner News

तीनै तहको निर्वाचनपछि मात्र एमाले सरकारमा जान्छ – अध्यक्ष ओली



काठमाडौँ, २९ जेठ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले तीनैै तहको निर्वाचनपछि मात्र पार्टी सरकारमा जाने बताए ।

नेकपा एमाले ३ नं प्रदेश कमिटीले आज स्थानीय तहको निर्वाचनमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उनले भने – स्थानीय तह, प्रदेश र सङ्घको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने उनले बताए ।

उहाँले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

अरुले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ – पार्टीको सजगतामा कमी भएको तथ्य औँल्याउँदै उनले भने ।

अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताए । संविधान पढ्नुभएको थिएन होला, अब संविधानको सबै पाना पल्टाउनुपर्छ, अनुसूची भनेको के हो थाहा पाउनुपर्छ – अध्यक्ष ओलीले थपे ।