अर्थ

छरिएको रकम जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल



काठमाडौँ, २४ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका साना–साना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले घरघरमा छरिएका साना–साना रकमहरु पुँजीको रुपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताए ।

उनले भने, ‘सहकारीको बेग्लै महत्व हुनेगर्छ । कसैले सहकारीलाई निजी भित्र राखेर दुईवटाको चर्चा मात्रै गरे हुन्छ भन्ने गर्छन् । होइन, यसलाई महत्व दिने हो भने यसलाई तीन वटा क्षेत्रको रुपमा तीनवटा खम्बाको रुपमा, यसलाई तीन खम्बे अर्थतन्त्र पनि भन्छन् । तीन खम्बे अर्थतन्त्र अहिलेको नेपालको संविधानले तीन खम्बे अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ । यो तीन खम्बा भित्र निजी, सहकारी, राजकीय क्षेत्र पर्छ । यी तीनको अनुपात के हुनुपर्छ भन्नेकुरा पनि बहसको विषय छ ।’