शैक्षिक

स्वास्थ्य चौकीका लागि रु ३० लाखको जग्गादान



गौशाला, ३० जेठ । महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय रामप्रसाद गुप्ता जैनपुरीले रु ३० लाख मूल्य बराबरको जग्गा दान गरेकाछन ।

साविकको मटिहानी गाविस–२ तथा हाल मटिहानी गाउँपालिका ४ स्थितमा स्वास्थ्य चौकी भवन निर्माणमा लागि दाता जैनपुरीले रु ३० लाख मूल्य पर्ने सात कट्ठा जग्गा दान गरे ।

सोमबार मटिहानीस्थित राम उच्च माविमा आयोजित जग्गा हस्तान्तरण कार्यक्रममा दाता रामप्रसाद गुप्ता जैनपुरीले प्रतिकट्ठा रु साढे चारलाख मूल्य रहेको सात कट्ठा जग्गाको लालपुर्जा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादव तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नागेन्द्र यादवलाई स्वास्थ्यचौकी भवन निर्माणका लागि हस्तान्तरण गरे।

मटिहानीमा स्वास्थ्यचौकी भवन निर्माणका लागि लाखौँको जग्गादान गर्ने दाता जैनपुरीलाई जग्गा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दोसल्ला र माला लगाई सम्मान गरे ।