काठमाडौँ, १ बैशाख । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ ।
शुक्रवार काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख नौ गते अर्थात् २२ अप्रिलका दिन केन्द्रमा एउटा कार्यक्रम गर्ने र देशव्यापी रूपमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले आ–आफ्नो अनुकूल हुने गरी त्यस अवसरमा देशव्यापी रूपमा कार्यक्रम गर्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । प्रवक्ता खतिवडाले भने, ‘बैठकले आगामी वैशाख नौ गते अर्थात अप्रिल २२ को दिन देशव्यापी रूपमा पार्टी स्थापना दिवस २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदा २२ अप्रिलको दिन भएको थियो । कम्युनिस्ट पार्टीको स्थापना दिवस बनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौँमा एउटा केन्द्रीय कार्यक्रम हुँदै छ । प्रत्येक प्रदेश र जिल्लाहरूमा आ–आफ्नो अनुकूलता अनुसार उनीहरुले आफ्नो कार्यक्रम गर्नेछन् । देशव्यापी रूपमा यो कार्यक्रम गर्नका निम्ति पार्टीले निर्देशित गरेको छ ।’










प्रतिक्रिया दिनुहोस्