शैक्षिक

पृथ्वी राजमार्ग अवरुद्ध, सयौँ यात्रु बाटामा अलपत्र



दमौली, १८ माघ । पृथ्वी राजमार्गको दमौली–खैरेनीटार सडक खण्डमा पर्ने तनहुँको जामुने गाविस– ३ रानाभाट बस्ती नजिकै बिहान सवारी साधनले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय सङ्गम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ ।

सवारी साधनको पहिचान गरी चालकमाथि कारबाही हुनुपर्ने र घाइतेको राम्रो उपचार गर्नुपर्ने माग गर्दै पीडित पक्षले पृथ्वी राजमार्ग अवरुद्ध गरेको छ ।

अपराह्न १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु बाटामा अलपत्र परेका छन् । ठक्कर दिने सवारी साधनको पहिचान गर्ने र बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस