Banner News

एमाले कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रका विरुद्ध सजग



काठमाण्डौ, ३० जेठ । नेकपा एमालेले कुनै पनि बहानामा दोस्रो चरणको निर्वाचन पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुरामा आफ्नो गम्भीर असहमति रहने जनाएको छ ।

महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवहरूबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन अझ बढी एकताबद्ध भएर सिंगो पार्टीलाई परिचालित गर्ने निर्णय गरेको छ ।

बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्ने कुरामा जोड दिंदै कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रका विरुद्ध सजग रहन आम जनतालाई आह्वान गरेको छ । र, निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्ने कुनै पनि कुराप्रति नेकपा एमालेको गम्भीर असहमति रहने कुरासमेत स्पष्ट गरेको छ ।

बैठकले राष्ट्रिय जनता पार्टी– राजपाका नामबाट देशका विभिन्न भागमा भएको अराजनीतिक गतिविधि, नेकपा एमाले, नेपाली कांगे्रस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरम लोकतान्त्रिक लगायतका दलहरुका विरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्र्सना गरेको छ । र, यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै एमालेले शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

बैठकले सबैखाले अराजनीतिक गतिविधिहरु बन्द गर्दै र निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान गरेको छ ।

बैठकले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको प्रचार–प्रसार तथा संगठन परिचालनका लागि केन्द्रीय नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु साथै पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउँमा खटाउने निर्णय गरेको छ ।