राजनीति

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच भेटवार्ता



काठमाडौँ, ७ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्कोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

रुसको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्नुस्सेन्कोबीच मस्कोमा शिष्टाचार भेट भएको हो । भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरूबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको बताएका थिए । साथै उनले नेपालमा राजनीतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकाले पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसी लगानी भित्रिने विश्वास व्यक्त गरे ।

यसैगरी अध्यक्ष तिमिल्सिना रुसी महासंघका सहायक परराष्ट्र मन्त्री एवाई रुदेन्कोबीच पनि भेटघाट भएको छ । आजै राष्ट्रिय सभा र फेडेरेसन काउन्सिलबीच अन्तर–संसदीय सहयोगलाई प्रबर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको छ ।