Banner News

राजपाका जायज माग सम्बोधन गर्न एमाले तयार ‘रघुवीर महासेठ



काठमाडौँ, ३१ जेठ । नेकपा एमाले का नेता रघुवीर महासेठले राष्ट्रिय जनता पार्टीले राखेका जायज माग सम्बोधन गर्न एमाले तयार रहेको बताए।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले देश टुक्र्याउने वा विखण्डन गर्ने खालका मागबाहेक मधेसी जनता र मधेसको हितमा हुने जुनसुकै माग मान्न एमाले तयार रहेको बताए ।

उनले राजपाको के माग हो भन्नेबारे अझैसम्म पनि स्पष्ट हुन सकिएको छैन भन्दै राजपा विभिन्न बहाना बनाई निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले तराईको एक घटकलाई बाहिर राखेर निर्वाचनमा जान नहुने बताउँदै तराईमा निर्वाचन गर्नु छ तराईकै जनतालाई बाइपास गर्न मिल्दैन भने ।

सुरक्षाको दृष्टिकोणले समेत दोस्रो चरणको निर्वाचन खतरा रहेको उल्लेख गर्दै उहाँले सरकारले मधेसी दललाई यथाशक्य निर्वाचनको पक्षमा ल्याउन पहल गर्नुपर्ने बताए ।

सङ्घीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले सबै पक्षलाई समेटेर निर्वाचनमा जानुपर्ने बताउँदै संविधान संशोधनलाई समेत पहल गर्दे निर्वाचनमा जाने हामीले निर्णय गरेका हौँ भने।

उहाँले मधेसी जनता निर्वाचनको पक्षमा रहेको भन्दै दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबीसमेत गरे ।

राष्ट्रिय जनता पार्टीका नेता वृशेषचन्द्र लालले संविधानलाई स्वीकार्य गरेमात्र आफूहरु निर्वाचनमा भाग लिने बताउँदै एमाले संविधान संशोधनका पक्षमा आइसकेकाले यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।