Banner News

चार दलको बैठक निष्कर्षविहीन



काठमाडौँ, ३१ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सहित मुख्य तीन दल र राष्ट्रिय जनता पार्टी राजपा का शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संविधान संशोधन, स्थानीय तहको सङ्ख्यामा वृद्धि र राजपालाई निर्वाचनमा सहभागी गराउनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बेलुका बसेको बैठक बिहीबार पुनःबस्ने गरी बिनानिष्कर्ष टुङ्गिएको हो ।

बैठकमा एमाले ले असार १४ गते हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सार्न नहुने स्पष्ट धारणा राखेको नेकपा एमाले का संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

छलफल राजपालाई पनि चुनावमा सहभागी गराउने सम्भावनाका विषयमा नै केन्द्रित थियो, तर बिहीबार १० बजे बस्ने गरी टुङ्गिएको छ– नेकपा माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठले भने ।

राजपाका नेता शरदसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको छ भने। नेता भण्डारीले अहिलेसम्म चुनावमा जाने वातावरण सिर्जना नभएको र वातावरण नभएमा दुर्भाग्यपूर्ण अवस्था हुने बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री विमलेन्द्र निधि, एमाले को तर्फबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, माओवादी केन्द्र को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरू वर्षमान पुन, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मा सहभागी थिए ।

त्यसैगरी राजपाका तर्फबाट नेताहरू महन्त ठाकुर, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको सहभागिता रहेको थियो ।