अर्थ

जडीबुटी निकासी घट्यो



दाङ, ११ बैशाख । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार ५३० किलो निकासा भएको छ ।

यसपछि टिमुर ५३ हजार ५८६ किलो निकासा भएको छ । काउलो २१ हजार ८७५ किलो, रिठा १४ हजार २०० किलो, मालागेडी १३ हजार ५०० किलो निकासा भएको छ । तेजपात पाँच हजार ५०० किलो, दालचिनी सात हजार १४५ किलो, मालागेडी पाँच हजार किलो निकास भएको छ । जसमा निजी वनबाट एक लाख ९४ हजार ३३६ किलो र राष्ट्रिय वनबाट २९ हजार ७०० किलो गरी दुई लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ ।

दाङबाट बितेको एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासा भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो । जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटीबुटीका बिरुवा रोपिएको छ । रासस