काठमाडौँ, १७ बैशाख । काठमाडौँ महानगरपालिकाले विद्यालयको चिह्न र नाममा एकरुपता कायम गर्न आग्रह गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६९, ७० तथा सोही नियमावलीको ७० को उपनियम १ र २ ले विद्यालयको नाम र चिह्का बारेमा एकरुपता ल्याउन खोजेको उल्लेख गरेका छन् ।
नियमावलीको नियम ६९ अनुसार विद्यालयको चिन्ह षट्कोणको हुने उल्लेख छ । जसअनुसार विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्ने उल्लेख छ ।
यस्तै नियम ७० मा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने उल्लेख छ ।
तर सो नियम प्रारम्भ हुनुभन्दा अगाबै नियम विपरीत नामाकरण भैसकेका विद्यालयको हकमा नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखिनै लागू हुनेगरी पुनःनामाकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने उल्लेख छ ।
यसैगरी कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रबृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने विषय पनि नियमावलीमा रहेको छ । ‘कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेसनल शव्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शव्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शव्द जोडिएको हुनुपर्नेछ’, नियमावलीमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्