विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली स्वीट्जरल्यान्ड, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको शक्ति सिर्जनशीलता, संस्कृति तथा ऐक्यबद्धताका आधारमा हुने भएकाले सो क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ आँैं सत्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिकस्तरलाई माथि उठाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो ।
सूचना प्रविधिको क्रान्तिसँगै विश्व श्रम बजारमा ठूलो सङ्ख्यामा महिलाको पहुँच बढेको छ भन्दै उहाँले दूरसञ्चारलाई सशक्तीकरणको माध्यम बनाई ब्रह्माण्डलाई प्रविधिसँग जोडेर पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले लैङ्गिक सवालमा सहस्राब्दी विकास लक्ष्यका सन्दर्भमा नेपालले हासिल गरेका उपलब्धिले भविष्यलाई शुभसङ्केत गरेको बताउँदै साक्षरता, विद्यालय भर्ना दर, मानसिक स्वास्थ्य, मातृशिशु मृत्यदर, महिला सशक्तीकरण र राजनीतिक सहभागिताका क्षेत्रमा नेपाल राम्रो प्रगति गर्न सफल भएको स्पष्ट गर्नुभयो ।
नेपालको संविधानको मौलिक हकमा भूमिमा महिलाको स्वामित्व व्यवस्था गरिएको जानकारी दिँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानमा अन्तर्राष्ट्रिय श्रमसम्बन्धी अभिसन्धिबमोजिम रोजगारीको अधिकार, श्रम र सामाजिक सुरक्षाका साथै साझा ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजीलाई मौलिक अधिकारमा समावेश गरिएको अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनुभयो ।
राज्यका सबै निकायमा महिलाको समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको बताउँदै उहाँले हालै सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा महिलाको राजनीतिक सहभागिता उल्लेखनीय रुपमा विस्तार भएको बताउनुभयो । त्यसैगरी स्वायत्त राष्ट्रिय महिला आयोगले महिलासम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पालनाका लागि सोसँग सम्बन्धित निकाय स्थापित गर्दै अघि बढिएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
संविधानले समाजवादउन्मुख शासन प्रणालीको परिकल्पना गरेकाले सामाजिक बहिष्करणमा परेका सबै समुदायलाई समता र सामाजिक न्यायको सुनिश्चितता गर्दै उहाँले विभेदको अन्त्यसहित मूल प्रवाहीकरण गर्ने सोचसहित मुलुक अगाडि बढेको बताउनुभयो । “नेपाली समाज यहाँसम्म आइपुग्नुका पछाडि यसको लामो सङ्घर्षको इतिहास छ । हामी दास र सती प्रथाबाट मुक्त हुँदै बालविवाह, बहुपतिप्रथा, दाइजो, सामाजिक बहिष्करण र छुवाछुतलाई अन्त्य गरेका छौँ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यो यथार्थ हो कि महिलामा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तीकरणबिना समाजमा न्याय र शान्तिसहितको समता स्थापित गर्ने विषय कल्पना पनि गर्न सकिँदैन भन्ने विषयलाई आत्मसात् गर्नैपर्छ ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा आफूलाई आमन्त्रण गरिनु नेपाली जनताको राजनीतिक सङ्घर्ष र बलिदानको सम्मान भएको बताउँदै उहाँले नेपालको द्वन्द्व, शान्तिपूर्ण राजनीतिमा रुपमान्तरण भई रुढिवादी पुराना सामाजिक संरचनाको अन्त्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको चासो भएको आफूले महसुस गरेको उल्लेख गर्नुभयो । “मैले नेपाल सरकार र मेहनेती नेपाली जनताका साथै गौतम बुद्ध र सगरमाथाको भूमिबाट तपाईँहरुका लागि न्यानो शुभेच्छा र सफलताका कामना ल्याएको छु । म यो सम्बोधन गरिरहँदा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले विश्वस्तरमा समतामूलक र श्रममैत्री समाजको प्रवद्र्धन खेलेको विशेष भूमिकाको प्रशंसा गर्न चाहन्छु”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।
सन् २०३० सम्ममा विश्वका नेताले तय गरेका महत्वाकाङ्क्षी दिगो विकासका लक्ष्यअन्तर्गत श्रमको सम्मानको सवाल सुहाउँदो समावेश गरिनु सन्तोषको विषय भएको बताउँदै उहाँले महिला समानता विषयमा पनि उचित पहिचानसहित सो लक्ष्य निर्धारण भएको धारणा व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्