शैक्षिक

सामाजिक विषयको प्रश्नपत्र र उत्तर नेपालीमा मात्रै



काठमाडौँ, २२ बैशाख । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यो वर्षको सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै दिनुपर्ने जनाएको छ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्का सदस्य सचिव एवं पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले बुधबार बसेको परिषद्को बैठकले यो वर्षदेखि नेपाली भाषामै प्रश्नपत्र र उत्तर लेख्ने व्यवस्था लागु भइसकेको जानकारी दिए ।

उनले भने, ‘बोर्ड वा अन्य कुनै निकायले भन्दा पनि परिषद्ले गरेको निर्णय आधिकारिक हुन्छ। सोहीअनुसार यो वर्ष कक्षा १२ का परीक्षार्थीले नेपाली भाषाकै प्रश्नपत्र पाउनेछन् र नेपालीमै उत्तर दिने व्यवस्था गरिएको छ ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परिषद्को निर्णयविपरीत अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र बनाउने निर्देशन दिनुभएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने परिषद्मा सो परिषद्को बैठक नबसीकनै बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ठाडो निर्णय गरी सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लगाएका थिए । तर, परिषद्को गत बुधबार बसेको बैठकले तत्काल निर्णय परिवर्तन गर्न नसकिने र सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र नेपालीमा मात्र बनाउनुपर्ने जनाएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा बसेको परिषद्को बैठकले कूटनीतिक नियोग, जापानमा सञ्चालित एभरेस्ट स्कुलको विद्यार्थीको हकमा भने सो विषयको प्रश्नपत्र र उत्तर लेख्ने भाषा अंग्रेजी बनाउने निर्णय गरेको थियो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले निजी विद्यालयको दबाब र प्रभावमा सामाजिक अध्ययन विषयको प्रश्नपत्र र उत्तर लेख्ने भाषा नेपाली र अंग्रेजी दुवैमा हुनुपर्ने बताउँदै आएका थिए । सो विषयमा अध्यक्ष शर्मासँग जानकारी लिन खोज्दा सम्पर्कमा आएनन् । उनले अघिल्लो वर्षको परीक्षामा कुनै निर्णय नगरी नेपाली भाषामा प्रश्नपत्र र उत्तर लेख्नुपर्ने व्यवस्थालाई हचुवाको भरमा हटाउन लागेका थिए । पाठ्यक्रम निर्धारण गर्ने विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा सामाजिक विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै लेख्नुपर्ने उल्लेख छ । यो समाचार नेपालसमाचार दैनिकमा छ ।