काठमाडौं, २ असार । दक्षिणी धादिङको अति विकट ब्रुसबाङ गाउँमा उत्पादित अन्नले खान नपुग्ने भएपछि यहाँका चेपाङ समुदाय सिस्नु, गिठ्ठा र टाँकीको मुन्टाले छाक टार्न बाध्य भएका छन् ।
कन्दमूलमा बाँचेको ब्रुसबाङलाई अब छाक टार्न पनि मुस्किल भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ मा पर्ने ब्रुसबाङमा ३७ परिवार चेपाङको बसोवास छ ।
भीरमा रहेको खोरियामा निकै संघर्ष गरी छरेको मकैले ६ महिना पनि राम्रोसँग खान पुग्दैन । समय परेको वर्ष उत्पादन पनि ठिकै हुन्छ, नत्र खडेरीले बोट सुकेपछि उत्पादनै हुँदैन ।
उत्पादित अन्नले खान नपुग्ने भएपछि स्थानीय चेपाङ समुदाय जंगली कन्दमूल र सिस्नो तथा टाँकीको सहारा लिन बाध्य भएको बताउँछन् । राममाया चेपाङ बाबु–आमा र तीनजना बच्चालाई बिहान–बेलुकाको छाक टार्न मुस्किल भएको बताउँछिन् ।
घरछेउमा रहेको सिस्नोको बोटमा मुन्टा टिप्दै गरेकी चेपाङले भनिन्, ‘खाए पनि सिस्नो, नखाए पनि सिस्नो, बारीमा टिपे पनि सिस्नो, जंगल गए पनि सिस्नो, यही सिस्नु छ र हामी बाँचेका छौँ, नत्र के बाँचिन्थ्यो ।’
सिस्नो नपाएको खण्डमा उनीहरू टाँकीको मुन्टासमेत खाने गरेका छन् । महिनादिन भइसक्यो टाँकीको मुन्टा खाएको । बारीको डिलमा सिस्नु टिप्दै गरेकी दिलमाया चेपाङको पनि हाल उस्तै छ । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्