समाचार

१४ एम्बुलेन्स प्रयोगविहीन



तम्घास, २४ बैशाख । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् ।

विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगविहीन अवस्थामा थन्किएका छन् । तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो । तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ । अहिलेसम्म कुनै पनि एम्बुलेन्सको मर्मत र व्यवस्थापन भएको छैन । कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा दुईवटा एम्बुलेन्सका लागि एक जना मात्रै चालक राखिएको छ । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा गुल्मीले १२ वर्ष पहिले बा १७ च ७६८ नम्बरको एम्बुलेन्स खरिद गरेको र उक्त एम्बुलेन्सले छ वर्षसम्म सेवा दिएको थियो ।

अहिले रेडक्रसले नयाँ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याए पनि पुरानो एम्बुलेन्सको भने व्यवस्थापन हुन सकेको छैन । गुल्मी जिल्ला अस्पतालमा दुई एम्बलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै रहेका एम्बुलेन्स अहिले झाडीतर्फ थन्किाइएको छ । एम्बलेन्सको खरिद मिति, लागत लगायतका बारेमा अस्पतालमासमेत आधिकारिक जानकारी छैन । एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन वर्षअघिबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । तर अस्पतालमै बिरामी एम्बलेन्स हुँदा न त तीनको उपचार हुनसकेको छ, न त उचित व्यवस्थापन नै ।

रुरुक्षेत्र गाउँपालिका–६ रिमुवामा विगत चार वर्षदेखि एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । भूपु सैनिकले सात वर्षअघि किनेको एम्बुलेन्स तीन वर्षसम्म मात्रै सञ्चालन भयो । मर्मत खर्च धेरै लाग्ने भएकोले पालिकाले पनि सञ्चालन गर्न नसकेपछि अहिले नयाँ एम्बुलेन्सको खरिद प्रक्रिया अगाडि बढाएको स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । मालिका गाउँपालिका–६ अर्जैमा भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स दुई वर्षदेखि अलपत्र छ ।

मदाने गाउँपालिका –३ सिर्सेनीमा पालिकाले रु साढे दुई लाख खर्चेर एम्बुलेन्स बनाए पनि सञ्चालन हुनसकेको छैन । दुई वर्षदेखि ठप्प रहेको एम्बुलेन्स चालु आर्थिक वर्षमा दुई लाख खर्चेर मर्मत गरे पनि चालक अभावको कारण देखाउँदै पालिकाले एम्बुलेन्स सञ्चालन गर्न नसकेको स्थानीय भरत चन्दले बताए । इश्मा गाउँपालिका–४ दोहोलीमा भूपू आर्मीमार्फत प्राप्त एम्बुलेन्स चार महिनादेखि व्यवस्थापनको पर्खाइमा छ । मुसिकोट नगरपालिकामा तीनओटा एम्बुलेन्स बिग्रिएर बन्द अवस्थामा छन् । अर्लाङकोट सेवा समाज, जापानले दिएको एम्बुलेन्स एकवर्ष, रेडक्रस सोसाइटीको एम्बुलेन्स चार वर्ष र निस्ती बडिगाढ सेवा समाजले दिएको एम्बुलेन्स चार वर्षदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए ।

बिग्रेका एम्बुलेन्स सबै पुराना भएको र पटक–पटक बनाउँदा पनि इञ्जिनले काम नगरेकोले थन्किएको जिसीको भनाइ छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङमा पनि एउटा एम्बुलेन्स विगत तीन महिनादेखि प्रयोगविहीन अवस्थामा छ । धुर्कोट गाउँपालिकाको वडा नं १ नयाँ गाउँ र वडा नम्बर ७ वाग्लामा गरी दुईवटा एम्बुलेन्स बिग्रिएर चल्नै नसक्ने अवस्थामा छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार पालिका गठन हुनुभन्दा अगाडि नै ल्याइएका दुवै एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने अवस्थामा छैनन् । सत्यवती गाउँपालिका– ४ लिम्घामा बिग्रिएको एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने भएपनि अलपत्र छ । एम्बुलेन्स किनेको मिति, लागत लगायतका बिषयमा पालिका नै बेखबर छ ।

आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज युकेले १० वर्षअघि दिएको एम्बुलेन्स आठ वर्ष चलेर दुई वर्षदेखि ठप्प छ । इन्जिनमा समस्या देखिएको एम्बुलेन्सलाई अहिले बनाएर चलाउँदा पनि खर्च नै नउठ्ने भएपछि केन्द्रले सञ्चालन गर्न सकेको छैन । केन्द्रका कोषाध्यक्ष ताराप्रसाद भुसालले एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया भएकाले समस्या भएको बताए । रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले एम्बुलेन्स चल्नै नसक्ने अवस्था भएको बताए । “पुरानो बिग्रेर नयाँ खरिद गर्यौँ”, उनले भने, “तर एम्बुलेन्सले सञ्चालन खर्च उठाउन नसकेर घाटामै छ ।” प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एम्बुलेन्सको उचित व्यवस्थापनका लागि सक्दो पहल गर्ने बताए । “उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ” उनले भने । रासस