Banner News

अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको अर्थमन्त्रीको स्वीकारोक्ति



काठमाडौ २६ वैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्र बैंकले चाँडै मौद्रिक नीति खुकुलो बनाउने अपेक्षा आफूले राखेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभाको बैठमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो अपेक्षा राखेको बताएका हुन् ।

बैंकको व्याजदर घटेसँगै व्यापारको लागि ऋण लिनेहरूको लागत कम हुने र व्यापार व्यवसाय फस्टाउने उनको भनाई थियो । सरकारको तर्फबाट पनि पूँजी खर्च हुन नसक्नु र मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पूँजी परिचालन चाहेअनुसारको नहुँदा अर्थतन्त्रमा केही समस्या सिर्जना भइरहेको उनले जानकारी गराए ।

महतले भने, ‘व्याजदर धेरै छ, ऋण लिएकाहरू आहत छन्, कसरी सम्भव छ?भन्ने प्रश्न पनि छ । अवश्य पनि अहिले राजश्व घटेको छ । पूँजीगत खर्च कम छ, त्यसले हाम्रो लक्ष्यअनुसारको आर्थिक वृद्धि भएन, अब पूँजीगत खर्चको प्रभाव बढाउनुपर्छ । हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हामीले स्वीकार गर्नुपर्छ । उदासीनता छ, अन्तिम समयमा गएर मात्रै खर्च गर्ने प्रवृत्ति छ त्यसलाई अन्त्य गर्नुपर्छ । खर्चको मनिटरिङ पहिलो दिनदेखि नै गर्नुपर्छ, महिना महिना दिनमा गर्नुपर्छ ।’
उनले थपे, ‘जसले लो व्याजदरमा ऋण लिएका थिए, उनीहरूले पनि हिसाबकिताब तिर्न सकेका छैनन्, अब लिन खोज्नेले पनि लिन खोजेका छैनन् । सरकारको तर्फबाट पनि पूँजी खर्च भएको छैन, मौद्रिक नीति बैंकिङ क्षेत्रबाट पूँजी परिचालन हुनुपर्ने कुरामा पनि समस्या देखिएको छ । मौद्रिक नीतिमार्फत पनि एड्रेस हुनुपर्छ । सम्बोधन हुनुपर्छ । मलाई विश्वास छ, चाँडै नै मौद्रिक नीति खुकुलो पार्छ, त्यसपछि व्याजदर घट्छ, घटेपछि लागत कम हुन्छ ।