राजनीति

भक्तपुर कांग्रेसले गुण्डागर्दी शैली देखायो, प्रतिरोध गर्छौ : भुतपूर्व सैनिक तथा प्रहरी संगठन



भक्तपुर, २६ बैशाख । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठन भक्तपुर जिल्ला कमिटीले कांग्रेस क्षेत्र नं. २ कमिटीले गुण्डागर्दी शैली देखाएको भन्दै कडा शब्दमा आपत्ती जनाएको छ ।

सत्ताको आडमा आफ्नो संगठनका नेतामाथि भौतिक आक्रमण गरेको उल्लेख गर्दै उक्त प्रकारका गतिविधिहरु नियन्त्रण गर्न संगठन जस्तोसुकै प्रतिरोध गर्न तयार रहेको संगठनका अध्यक्ष रञ्जन खड्काले विज्ञप्ती जारी गर्दै चेतावनी दिनुभएको छ । विगत १० वर्षदेखी नियमित रुपमा प्रयोग गर्दै आएको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रहेको सडकमा टोलावसीले प्रयोग गर्दै आएको सडक खनेर बाटो अवरोध गरेको र सो कार्य नगर्न आग्रह गर्दा छरछिमेकी माथि नै भौतिक आक्रमण गर्ने व्यक्तिहरुलाई नै बचाउने उद्देश्यका साथ कांग्रेस क्षेत्र नं. २ का सभापति भेष बहादुर कार्कीले निकालेको विज्ञप्ती प्रति संगठनले घोर भत्सना गरेको छ । संघले कानुनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज घटनाको बारेमा जानकारी समेत गराएको छ ।

अदालतको मानहानी हुने गरी फैसलाको अवज्ञा गर्दै गुण्डागर्दी सैलीमा भौतिक आक्रमणमा उत्रने र सत्ताको दुरुपयोग गरी पार्टीबाट विज्ञप्ती निकाली दोषीलाई उम्काउने प्रयास गरेको भन्दै संगठनले आपत्ती जनाएको हो । विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनलाई नै दवाव दिने साथै जो चोर उसकै ठूलो स्वर भन्ने उखान जस्तै अदालतलाई अपमान गर्ने, टोलवासीलाई आक्रमण गर्ने कृष्णभक्त श्रेष्ठ र उक्त घटनामा संलग्न उनका परिवारलाई कानुन अनुसार कारवाही तथा पिडितलाई न्याय तथा उचित क्षतीपूर्तिको माग समेत गरेको छ । श्रेष्ठको नेतृत्वमा बैशाख २२ गते संगठनका उपाध्यक्ष राजन पौडेल, करुणा पौडेल, प्रतिज्ञा केसी तथा दिपक खत्रीमाथि भौतिक आक्रमण गरिएको थियो ।