समाचार

दर्ताबिनाका अस्पतालले जनताको ज्यान जोखिममा



काठमाडौँ, २ जेठ । प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते जनकपुरधामस्थित नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन् । सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो । उनी दोस्रोपटक सुत्केरी हुँदै थिइन् ।

विद्याका श्रीमान् दिलीपका अनुसार विद्यालाई ३१ पोका रगत चढाउँदा पनि स्वास्थ्य अवस्थामा सुधार आएन, झन् बिग्रिँदै गयो। चिकित्सकले पाठेघर फाटेकाले रक्तस्राव भएको र त्यसलाई रोक्न पाठेघर नै काटेर हटाइदिएको दिलीपलाई बताएका थिए। तर पाठेघरमा जोडिएका नसा फाटेर अवस्था झन् बिग्रिँदै गयो। विद्याको अवस्था देखेर आफन्त ललितले भदौ २५ गते काठमाडौंबाट हेलिकप्टर मगाइदिए र मेडिसिटी अस्पतालमा भर्ना गराइदिए। मेडिसिटीले जति प्रयास गर्दा पनि विद्याको अवस्थामा सुधार आएन। मेडिसिटीले ‘पहिला जहाँ उपचार गरिएको थियो, त्यहीँ लानुस्’ भनेपछि उनलाई असोज १५ गते पुनः नैना अस्पतालमै ल्याइयो। त्यही दिन विद्याको प्राण गयो। त्यसअघि भदौ १६ गते सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ त्रिभुवननगरका रवीन्द्र साहकी पत्नी चञ्चला देवीका दुई दिने शिशुको पनि नैना अस्पतालमा ज्यान गुमेको थियो।

यो अस्पताल बिनादर्ता डेढ वर्षदेखि मधेस प्रदेशको राजधानी जनकपुरधामको रमानन्द चोकमा सञ्चालन हुँदै आएको छ। अस्पतालको दर्ता, नवीकरण, अनुगमन र कारबाहीको अधिकार राख्ने मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय र मातहतको प्रदेश स्वास्थ्य निर्देशनालय सो अस्पतालबारे अनभिज्ञ छन्। निर्देशनालयका निर्देशक विजय झाले भने, ‘यो अस्पतालको दर्ता सम्बन्धमा कुनै पनि कागजात आफूकहाँ आएको छैन, अस्पताल सञ्चालनबारे हामीलाई कुनै जानकारी छैन।’

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा। मुक्तिनारायण साहले पनि उक्त अस्पतालबारे अनभिज्ञता प्रकट गरे। ‘यो अस्पतालका विषयमा मलाई केही थाहा छैन,’ उनले भने। उल्लिखित घटना जनकपुरधामको भए पनि मधेस प्रदेशभर स्वास्थ्य सेवामा बेथिति मौलाएको छ। मधेस प्रदेशमा स्वास्थ्य सेवा बेलगाम हुँदा फस्टाएको दण्डहीनताले सर्वसाधारण बिरामीको जीवनलाई मूल्यहीन बनाउँदैछ। प्रादेशिक अस्पताल लहानको पूर्वतिर टाँसिएरै स्वस्तिक अस्पताल सञ्चालनमा छ। २५ शड्ढयाको सो अस्पतालको नवीकरण २०७९ माघ २४ गतेसम्मका लागि मात्र गरिएको छ। मापदण्ड र नियमनविपरीत प्रदेश सामाजिक विकास मन्त्रालयलले उक्त अस्पताल सञ्चालनका लागि अनुमति दिएको पाइएको छ। अहिले यो अस्पताल कानुनी हैसियतबेगर सञ्चालनमा छ। यो समाचार नागरिक दैनिकमा छ ।