काठमाडौँ, २ जेठ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल परिमार्जन गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै टेलिकमले यसबारे जानकारी गराएको हो । जसअनुसार मे १७ मा मनाइने आईटीयू डे २०२३ का अवसरमा बुधबारदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ ।
नयाँ दर अनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट रु. ७ मात्र शुल्क लाग्ने छ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ । हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ ।
त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट रु. ५० मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट रु. २५ र एसएमएस गर्दा प्रति एसएमएस रु. १० लाग्ने छ ।










प्रतिक्रिया दिनुहोस्