सम्पादकीय

‘सडकमा बत्ती बाल्न नसक्ने हो भने के सरकार चलाउनू ?



काठमाडौं, ३ असार । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ट्राफिक व्‍यवस्थापन चुस्त बनाउनका लागि काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ती राख्न दिर्नेशन दिनुभएको छ ।

शुक्रबार ट्राफिक व्‍यवस्थापनसँग सम्बन्धित सरकारी निकायसँग छलफल गर्दै गृहमन्त्री शर्माले छोटो विधिबाट उपत्यकामा यातायात संकेत बत्ती राख्न निर्देशन दिँदै भने , ‘छोटो विधिबाट काठमाडौंका दुई सय चोकमा संकेत बत्ती जडान गरौं, त्यसका लागि कत्ति खर्च लाग्छ ? ’

ट्राफिक संकेत बत्ती तथा सड्क बत्ती बाल्न पनि एडिबीको मुख ताक्न नहुने उल्लेख गर्दै उनले भने, ‘एडीबीले ७ वर्ष लगाउँछ, हामी आफैंले सड्कमा बत्ती बाल्न नसक्ने हो भने के सरकार चलाउने ?’ सड्क विभाग, यातायात व्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, विद्युत्त प्राधिकरण, काठमाडौं महानगरपालिका लगायतका सरकारी निकायका प्रमुखलाई मन्त्री शर्माले तीन दिनभित्र ट्राफिक व्‍यवस्थापनको योजना पेश गर्न निर्देशन दिए ।

‘कलंकीको जस्तो आकाशे पुल नबनाउनुहोस ठेकेदारलाई मात्र फाईदा हुन्छ, अब काम थाल्नुस छोटो विधिबाट बन्‍ने आकाशे पुलहरु टेण्डर गरिहाल्नुस्, के सड्क विभागसँग दुई चारवटा पुल बनाउने पैसा पनि छैन ? मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘पैसाको व्‍यवस्थापन म गरिदिन्छु ।’

यातायात व्‍यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्री शर्माले उपत्यकाका ८ सय स्थानका जेब्रा क्रसिङको रेखाकंन कम्तिमा १५ दिनभित्र सिध्याउन निर्देशन दिए ।

उपत्यकाको अस्तव्‍यस्त ट्राफिक व्‍यवस्थापन सुधार्न पहिले ठूला बस हालेर सानालाई विस्थापन गर्दै लानुपर्ने उल्लेख गर्दै उनले भ‍ने, ‘सड्कसँगै जोडिएका पेट्रोलपम्प विस्थापनका लागि सूचना दिऔं, सार्क सम्मेलन हुँदा निलो जस्ताले बेरेर फोहोर छेक्ने प्रवृत्तिको अन्त्य गर्न हामी लागौं ।’

सरोकारवाला निकायको छलफलमा मन्त्री शर्माले काठमाडौं महानगरपालिकाका कार्यकारी निर्देशक ईश्वर पौडेलको संयोजकत्वमा कमिटी बनाएर उपत्यकाको ट्राफिक व्‍यवस्थापनमा लाग्न निर्देशन दिए ।

पे पार्किङले काठमाडौंमा गुण्डाराज : आईजीपी अर्याल

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले राजधानीमा भइरहेको पे पार्किङले गुण्डाराज बढाएकाले त्यसको अन्त्य गर्न माग गरेका छन । शुक्रबार गृहमन्त्रालयमा आयोजित ट्राफिक व्‍यवस्थापन बारे छलफलका क्रममा प्रहरी प्रमुख अर्यालले अव्यवस्थित पार्किङ हटाउनुपर्ने तर टेण्डर गर्न नहुने बताए ।

‘पे पार्किङमा गुण्डाराज भयो, इलेक्ट्रोनिक मिटर पार्किङ गरौं’, उनले भने, ‘पार्किङको टेण्डर नगरौं, काठमाडौंमा गुण्डाराज सुरु हुन्छ।’ काठमाडौंमा सबैलाई आफ्नै सवारी चाहिएकाले ट्राफिक व्‍यवस्थापन चुस्त हुन नसकेको तर्क गर्दै प्रहरी प्रमुख अर्यालले सिन्डीकेट पनि ट्राफिक व्‍यवस्थापनको मुख्य समस्या रहेको बताए ।

जेब्रा क्रसिङ सुरक्षित बनाउनुपर्ने र मुख्य चोकमा आकाशे पुल बनाएर ट्राफिक व्‍यवस्थापन सुधार्न सकिने उनको भनाइ छ । विद्युत्त प्राधिकरणका निर्देशक कुलमान घिसिङले ट्राफिक व्‍यवस्थापन पिक मेनेजमेन्ट भएको उल्लेख गर्दै भेहिकल फ्लो पिक टाईममा पब्लिक गाडी बाहेक अन्यलाई कम गरेर पनि मेनेज गर्न सकिने बताए ।

‘हाम्रोमा स्पिड मेन्टेन छैन, गाडी कत्ति समय रोकिने भन्ने पनि छैन’, उनले प्रश्न गरे, ‘सड्क बत्ती व्‍यवस्थापन कसले गर्ने हो, किनकी सडक पनि उज्याले हुनुपर्छ।’

सड्क विभागका महानिर्देशक गोपाल सिग्देलले आगामी आर्थिक वर्षभित्र काठमाडौंका ३५ स्थानमा ट्राफिक संकेत बत्ती जडान गर्ने प्रतिवद्धता जनाए । ‘अहिले १८ स्थानमा ओभरहेड ब्रिज छ’, सिग्देलले भने, ‘चक्रपथको हरेक ९ किलोमिटर दुरीमा ओभरहेड ब्रिज बनाउँदै छौं, त्रिपुेश्वर र माइतिघरमा पनी ओभरहेड ब्रिज बनाउने बारे अध्ययन गरिरहेका छौं।’

काठमाडौं उपत्यका नगर विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीले उपत्यकामा पार्किङको समस्या ठुलो रहेको उल्लेख गर्दै त्यसलाई मेनेज गर्न सकेमा ट्राफिक समस्या धेरै हदसम्म समाधान हुने दाबी गरे ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङ्मार लामाले १ बर्षमा ६ लाख सवारीलाई कारबाही गर्दा पनी ट्राफिक सुधारको संकेत देखा नपरेको बताए । अन्नपुर्णमा समाचार छ ।