राजनीति

रेशमलाई छुटाउन सरकारको प्रपञ्च



काठमाडौँ, १२ जेठ । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टी ( नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन सरकारले प्रपञ्च रचेको छ ।

चौधरीको रिहाइका लागि सरकारले बुधबार नै आम माफीको सिफारिससहितको फाइल राष्ट्रपति कार्यालय पुप्याएको हो । ‘थारू नेता’ चौधरीलाई कैद माफी दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाउपाका नेताहरूलाई पटकपटक आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्रीकै रायअनुसार महान्यायाधिवक्ता कार्यालयमार्फत गृह मन्त्रालयले आममाफी पत्र राष्ट्रपति कार्यालयमा पठाएको गृह मन्त्रालय स्रोतको दाबी छ । राष्ट्रपतिको कार्यालयले समेत बुधबार साढे २ बजे नै सरकारको तर्फबाट पत्र आएको पुष्टि गरेको छ । राष्ट्रपतिको कार्यालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘चौधरीलाई माफी दिने विषयको फाइल बुधबार आएको हो । तर, उक्त फाइल अध्ययन गर्न बाँकी नै छ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।