राजनीति

लोसपा मधेश प्रदेश सरकारमा सहभागी, मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता



काठमाडौँ, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश सरकारसँग केही दिनयता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेश सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिए। कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशङ्कर मिश्रले वन तथा वातावरणमन्त्रीका रूपमा शपथ गराएका थिए।

कुर्मीलाई मुख्यमन्त्री यादवले आफैसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन्। वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुङ्गो लाग्न बाँकी रहेको छ । राज्यमन्त्रीको नाम पछि टुङ्गो लाग्ने बताइएको छ। सत्तारूढ गठबन्धनको बैठकले मधेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ। योसँगै मधेश प्रदेशमा अब पाँचौँपटक मन्त्रिपरिषद् विस्तार भएको छ। यसअघि मङ्गलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए।

मधेश सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानून मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन्। रासस