विचार/ब्लग

मानिसको आयु कति वर्ष हुन्छ ?



“मानिसको आयु सय वर्षको हुन्छ । अहिले म नब्बे वर्ष मात्र भएँ, अझै १० वर्ष सकृय भएर काम गर्न सक्छु । तीन ठाउँमा जागिर खाएर रिटायर्ड भएँ । अहिले चौथो ठाउँमा काम गर्दैछु ।”

आज बिहान पार्क घुम्दै आएका यी नवपरिचित जापानी हजुरबाका कुराले साह्रै प्रभावित भइयो । उहाँसँग अलि लामै कुराकानी गरेर उहाँले बुझेको मावन जीवनको सारांशका बारेमा बुझ्न मन लागेर बिचबिचमा छोटा छोटा केही प्रश्नहरु मात्र सोधेर बाँकी समयमा म एक आज्ञाकारी छात्रले झै उहाँका कुरा सुनिरहेँ ।

“विभिन्न उमेरका आम बालबालिका भन्दा मानसिक रूपमा अलि भिन्न प्रकृतिका बालबालिका लागि कस्तो खालको शिक्षा प्रभावकारी हुन्छ भन्ने सम्बन्धमा सरकारी विश्वविद्यालयमा अनुसन्धान, अध्यापन गरेर ६० वर्षको ‘जवान’ उमेरमा नै रिटायर्ड भएँ । अनि निजी क्षेत्रको विश्वविद्यालयमा २० वर्ष काम गरेर ८० वर्षमा त्यहाँबाट पनि रिटायर्ड भएँ । अर्को निजी क्षेत्रको कलेजमा १० वर्ष काम गरी गत वर्ष त्यहाँबाट पनि रिटायर्ड भई अहिले एक एनपीओका तर्फबाट अध्ययन अनुसन्धान गर्दैछु । अनुसन्धानको कामको शिलशिलामा ३० वर्ष पहिले नेपाल पनि पाँच पटक गएको थिएँ । त्यसबेला त्यहाँका शिक्षा मन्त्रीले हामीलाई आमन्त्रण गरेर पोखरा भन्दा पर केही गाउँका विद्यालयमा पुस्तकालयको स्थापना गर्ने सहयोग माग्नु भएको थियो । पुस्तकालय नभएको र पाठ्यक्रमका सीमित पुस्तकहरू मात्र पढेर पनि त्यहाँका कोही कोही बालबालिकाहरूको अकल्पनीय तीक्ष्ण बुद्धि देखेर हामी साह्रै प्रभावित भएका थियौं । जापान फर्केर आएपछि आर्थिक विपन्नता वा भौगोलिक रुपमा दूर्गम ठाउँका बालबालिकाहरु सहरका बालबालिका भन्दा फरक प्रतिभाका हुन्छन् भन्ने नेपालको उदाहरण दिएर सोही अनुसारको अध्यापन विधिको अनुसन्धान गरेका थियौं ।”

मैंले अलि आश्चर्य माने जस्तो गरि सोधे – भनेपछि तपाईँहरु नेपालमा भोलेन्टियर काम गर्न जादा पनि केही न केही सिकेरै आउनुहुन्थ्यो ? हजुरबाले जीवनदर्शन मिसाएर अलि लामै उत्तर दिनु भयो । “किन न सिक्नु नि ! अलग प्रकारको समाज, भुगोल, भाषा, संस्कृति र रहनसहनमा गएर त्यहाँको वस्तुस्थितिको प्रत्यक्ष अवलोकन गरेर सिकेका कुरा अत्यन्त प्रभावकारी हुन्छन्। तिमीलाई थाहा छ, तिमीले अहिले देखेको जापानको विकास पनि हामीले बाहिरबाट सिकेर नै गर्न सकेको हो। सन् १८६९ बाट शुरु भएको मेइजी युगले पश्चिमी प्रविधि, लाईफस्टाइल र विदेशी विज्ञहरुलाई जापानमा भित्र्याउने नीति लिए पछि यहाँ औद्योगिकरण तीब्र गतिमा भयो। विजुली, ग्याँसको उत्पादन र प्रयोग गर्न जान्यौं । रेल प्रविधि भित्र्यायौं र केही दशकमा नै हामी आफै संसारका उच्च रेल प्रविधिको विकास गर्न सक्यौं । यो सबै पर्सनल स्पेस र पोर्टेबल स्पेसको समिश्रणले सम्भव भएको हो ।”

हजुरबाको यो स्पेस सम्बन्धित कुरा नबुझेर मैले बिचमा नै प्रश्न गरें – यो स्पेसका बारेमा बुझिन नि ? “हरेक मानिसको आफ्नै वरपर एक विशेष प्रकारको स्थान हुन्छ, जसलाई पर्सनल स्पेस भनिन्छ। पर्सनल स्पेसमा त्यो मान्छेका मौलिक गुण, खुबी, भावना, प्रभाव आदि समाविष्ट भएका हुन्छन्। जब मान्छे आफू बसेको ठाउँबाट अर्को ठाउँमा जान्छ तब आफ्ना केही गुण आफैंसँग साथमा लिएर जान्छ, जसलाई पोर्टेबल स्पेस भनिन्छ। पोर्टेबल स्पेस असीमित हुन्छ जुन बिलकुलै नयाँ भूगोल र समाजमा बस्दाको अनुभव र अवलोकनले फराकिलो बनाउन सकिन्छ। यसरी फराकिलो पोर्टेबल स्पेस भएको मान्छे जब फर्केर आउछ, उसले आफ्नो लगायत आफ्नो वरपर अरुको पनि पर्सनल स्पेस फराकिलो पार्दछ र नयाँ नयाँ ज्ञानको श्रृजना र प्रविधिको आविष्कार गर्छ। त्यही भएर म पनि तीस पटक भन्दा बढी विदेश भ्रमणमा गई आफ्नो पोर्टेबल स्पेस सधै फराकिलो राख्ने प्रयास गरें । तिमीलाई थाहा छ, बाहिरी दुनियाँको गहिराई सम्म अनुभव नगर्ने हो भने मान्छेको पर्सनल स्पेस सागुरो हुदै जान्छ र दृष्टिकोण, विचार, भावना सबै सागुरिदै जान्छन् । अनि उसले आफ्नै कार्यालयमा, आफ्नै घरमा, आफ्नै ठाउँमा वा आफ्नै देशमा रहेका सबैलाई प्रतिस्पर्धीका रुपमा हेर्न थाल्छ । आफ्नो उत्पादकत्व त घटाउँछ घटाउँछ, वरीपरीकालाई पनि बिगार्छ। त्यसैले संसार बृहत छ, यहाँ अवसरहरू पनि असीमित छन् र यी अवसरलाई आफ्नो हातमा पार्नका लागि आफ्नो संकुचित मनलाई फराकिलो बनाउनु पर्छ भन्ने कुरा विदेशमा वा विदेशीसँग काम गरेर मात्र थाहा पाइन्छ ।”

हजुरबाको तर्क, जोस र जाँगर देखेर म लठ्ठै परें। ९० वर्षको उमेरमा पनि जीवन प्रति यति साह्रो उत्साही व्यक्तित्वसँग एक फोटो खिच्न अनुरोध गरें । उहाँले हुन्छ खिचौँ भन्दै ह्याट टोपी फुकाल्दै फोटोका लागि तयार हुनुभयो। इमेल चलाउनु हुन्छ भने दिनु न म यो फोटो पठाउँछु मात्र मैंले के भनेको थिएँ हजुरबाको जवाफले फेरि चकित भएँ । “कम्प्युटर, इन्टरनेट मेरा लागि आवश्यक छैनन्। कम्प्युटरले जोड घटाउको हिसाबका आधारमा मान्छेलाई यो गर उ गर भन्छ रे, म कम्प्युटरले भने अनुसार गर्ने मान्छे होइन, आफ्नो विवेकले जे गर्नु पर्ने हो त्यही गर्छु ।” हजुरबालाई नमस्कार गरें र हामी बिदा भयौं । यी हजुरबाको जय होस् ।
बेद काफ्ले
जापान