राजनीति

एमालेद्वारा संसद् अवरोध



काठमाडौँ, १२ जेठ । नेकपा (एमाले)ले संसद् अवरोध गरेको छ । पशुपतिमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चढाइएको जलहरी सुन भनेर पित्तल चढाएको आरोप नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले लगाएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।

अघिल्लो बैठकमा माओवादी सांसद दाहालले लगाएको आरोपमा एमालेले आज बैठक अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक पदम गिरीले भने, “सत्तापक्षका माननीज्यूहरुले रोष्ट्रममा उभिएर प्रतिपक्षमाथि आक्षेप लगाउने काम गर्नुभएको छ । पशुपतिमा सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ,” “प्रतिपक्षले सत्तापक्षमाथि आरोप लगाउँछ । यहाँ त सत्तापक्षले प्रतिपक्षमाथि आक्षेप लगाउँदै छ । पशुपतिको गजुरमा सुनको ठाउँमा पित्तल लगाएको छ भने छानबिन होस् । सरकारले त्यो सुन हो कि पित्तल हो भनेर जवाफ दिनुपर्छ ।”