Banner News

गम्भीर आरोप टाउकोमा बोकेर संसद चल्न दिन्नौं : नेता नेम्वाङ



काठमाडौँ, १२ जेठ । पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

आजको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उभिएर बैठक अवरोध गरेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने अडान लिए।

उपनेता सुवास नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने थप जानकारी दिदै उनले भने, ‘सदन रोक्ने हामीलाई रहर छैन । हामी प्रष्ट छौं, हाम्रो प्रयास त्यही नै हो’ ‘यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौं।’

नेम्वाङले भ्रष्टाचार भएमा कार्बाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन आरोप लगाइएको बताए ।’मैले तीन पटक सुनेँ । सुनको जलारीको नाममा पशुपतिनाथमा पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्ने काम गरेको छ । पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ’, नेम्वाङले भने । उनले यो आरोप राफसाफ नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसकिने बताए।