Banner News

सांसद दाहालको अभिव्यक्ति ‘जँड्याहा’ले पनि नबोल्ने खालको होः अध्यक्ष ओली



काठमाडौँ, १२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन) ले संसदमा दिएको अभिव्यक्ति एउटा जँड्याहाले पनि नबोल्ने खालको भएको बताउनुभएको छ ।

शुक्रबार पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिएको भन्दै कटाक्ष गर्नुभयो । यस्तो अभिव्यक्ति दिनु नै देशद्रोह भएको ओलीले जिकिर गर्दै उहाँले त्यस्ता असत्य, आधारहीन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको बताउनुभयो ।

एउटा जँड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद् अवरुद्ध पारेको ओलीको भनाइ थियो । कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभए पनि सत्तारुढ दलहरूले मिलेर आरोप लगाइरहेको बताउँदै उहाँले अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।