सम्पादकीय

उपभोक्ता चुसेर मोटाउँदै निगम



काठमाडौं, ४ असार । सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छैन ।

अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यापक शोषण गरेर बोनस खानका लागि नाफा कमाएको बताउँछन् ।

“पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपनि सोहीअनुसार स्थानीय बजारमा मूल्य घटेको छैन,” उनले भने, “आम सर्वसाधारणलाई महँगो मूल्यमा इन्धन बेचेर निगमले संस्थागत ठगी गरिरहेको छ । व्यापारी पोसाउँदै जाने र उपभोक्तालाई ठग्ने प्रवृति गलत होे । नियमनकारी निकायको मिलेमतोमा इन्धनमा उपभोक्ता ठग्ने प्रवृति अन्त्य गर्नुपर्छ ।”

निगमले आईओसीबाट इन्धनको मूल्य बढेर आउँदा सोहीअनुसार बढाउने तर घटेर आउँदा न्यूनमात्र घटाउने गरेको छ । निगमले उपभोक्ताबाट चर्को मूल्य असुल गरी नाफा देखाएर पछिल्लो चार वर्षयता ६ प्रतिशतका दरले बोनस रकम जम्मा गर्दै आएको छ ।

बोनसका लागि २ अर्ब ३६ करोड रुपैयाँ जम्मा गरेको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा गत पुसमा नै इन्धनको मूल्य प्रतिब्यारेल ५१ डलरबाट घटेर ३८ डलरमा झरेको भए पनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगरी उपभोक्तालाई ठगिरहेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

निगमले इन्धनको मूल्य बढेर आए तत्काल बढाउने तर घटेर आउँदा लामो समय पछिमात्र घटाउने गर्दै आएको छ । आईओसीले शुक्रबार पठाएको नयाँ मूल्यअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि निगमले डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसा घटाएको छ ।

खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४० रुपैयाँ नाफा हुँदा पनि निगमले मूल्य घटाएको छैन । निगमलाई मूल्य समायोजन गरेपछि पेट्रोलमा ५ रुपैयाँ ६९ पैसा, डिजेलमा १ रुपैयाँ ४७ पैसा र मटीतेलमा १७ रुपैयाँ ४७ पैसा नाफा छ ।

निगमका प्रवक्ता सीताराम पोखरेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य घटाइएको बताए । इन्धनको मूल्य घटेर आएकाले मूल्य समायोजन गर्दा पाक्षिक नाफा ३८ करोड रहेको उनले जानकारी दिए ।

निगमले पूर्वाधार शुल्क, प्रशासनिक शुल्क, सडक दस्तुर, वातावरण प्रदूषण शुल्क र बूढीगण्डकी आयोजनाको पूर्वाधार शुल्क भनेर उपभोक्ताबाट रकम असुल गरिरहेको छ । कारोबारमा समाचार छ ।