विश्व

भारतको ओडिशामा रेल दुर्घटना : २ सय ३३ जनाको मृत्यु



एजेन्सी, २० जेठ । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो । आडिशाका मुख्यसचिव प्रदीप जेनाका अनुसार दुर्घटनामा २ सय ३३ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।

दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजारस्टेसननजिकै भएको बताइएको छ । भारतीय रेलमन्त्री अश्विनी वैष्णवले सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन्। उहाँले उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि घोषणा गर्नुभएको छ ।