काठमाडौँ, २१ जेठ । सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नागरिकता विधेयक पारित हुनुलाई एउटा महत्वपूर्ण उपलब्धीको रूपमा लिनुपर्ने बताएका छन्।
पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले सिड्नीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नागरिकता विधेयकको गलत ब्याख्या गरिन नहुने जिकिर गर्दै अधिकारका लागि नागरिकता प्राप्ती महत्वपूर्ण उपलब्धि रहेको बताए । उनले प्रवासी नेपालीको माग अनुसार नै एक पटकको नेपाली सधैको नेपालीको पहिलो खुटकीलोका रूपमा समेत यसलाई लिनुपर्ने बताए । उनले रेशम चौधरीको रिहाइ कानुन अनुसार गरिएको निर्णय भएकोले आफूले यस विषयमा थप केही बोल्नु नपर्ने बताए ।
उनले आफू भ्रष्ट्राचार विरोधी रहेको पटक पटक दोहोर्याउँदै सुशासनको अभावमा मुलुकमा भ्रष्ट्राचार मौलाएको तर्क गरे । ‘सुशासनको अभावमा भ्रटाचार मौलाउने गर्छ। राजनीतिमा पनि मान, मर्यादा अनि इज्जत र प्रतिष्ठा हुन्छ त्यो पनि भुलेर भ्रष्टाचारमा संलग्न हुने अपराधी हुन्, उनीहरूलाई कारबाही हुनैपर्छ’, उनले भने, ‘मैले धेरै पटक सोधेको पनि छु, यत्रो पैसा कमाएर के गर्नुहुन्छ, उसिनेर नोट खानुहुन्छ?’
पूर्व प्रधानमन्त्री नेपालले विदेशमा सिकेको शिप र ज्ञानलाई नेपाल लैजान सके देशले ठूलो सफलता पाउने आशा राखे । पछिल्लो समय विदेशबाट फर्किएका कयौं युवाहरू आधुनिक कृषि, उद्योग र व्यवसायमासमेत संलग्न भइरहेको भन्दै यसलाई आफूले शुभ शंकेतको रूपमा लिएको बताए । पूर्व प्रधानमन्त्री नेपालले हुन्डी मुलुकका लागि घातक भएको भन्दै यसलाई विधिवत रूपमा सरकारी च्यानलमार्फत देशमा रेमिट्यान्स भित्राउनुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्