समाचार

आजको मौसम



काठमाडौँ, २३ जेठ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।काठमाडौँ उपत्यकामा हिजोभन्दा आज धेरै गर्मीको महसुस हुनेछ । हिजो बिहानैबाट काठमाडौंमा बदली भएका कारण कम गर्मी भएको थियो । तर, आज बिहानैबाट मौसम सफा हुने भएकाले गर्मी पनि बढ्नेछ ।

मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौँमा आज तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्नेछ । तराईका जिल्लामा पनि आज उच्च गर्मी यथावत रहनेछ । तराईका जिल्लामा आज ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम रहने मौसमविद् शाक्यको भनाइ छ । पश्चिमी तराईमा भने आज बदली र सामान्य वर्षाको सम्भावना रहेको छ ।