Banner News

आर्थिक विधेयक टाइप गर्न नासुलाई ल्याएको हो : अर्थमन्त्री डा. महत



काठमाडौँ, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा. महतले त्यहाँ रामकृष्ण श्रेष्ठलाई आफू आउनुभन्दा अगाडि नै नियुक्ति गरिएको स्पष्ट पारे ।

उनले भने, “निर्णय प्रक्रियामा मसहित सचिवहरू तथा महानिर्देशक मात्र संलग्न थियौँ,” “हामीले भनेअनुसार टाइप गराउने काम श्रेष्ठलाई गराएका थियौँ ।”

उनले बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा मिडियामा असत्य खबर सार्वजनिक भएको जिकिर गरे । आफूले इमानदार भएर बजेट ल्याए पनि प्रश्न उठाइएको उनले बताए । महतले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको बताए । प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले भने, “इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।”

उनले इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको बताए । “विचौलियालाई छेउमा पनि आउन दिएको छैन,” उनले भने, “विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।”