राजनीति

पूजापाठबाट अर्थतन्त्र कहीँ पनि सुदृढ भएको छैन : अध्यक्ष ओली



काठमाडौँ, २३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा गरिएको पूजाप्रति कटाक्ष गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले भगवान छ भनेर कोसिस नै नगरिने भन्दै व्यंग्य गरेका हुन् । “भगवान छन् नि भन्ने छ । यहाँ भएन भने इन्डिया गएर १०८ किलो चढाएर भए पनि भगवान छन् नि हाम्रा, किन कोसिस गर्नुपर्या छ भन्ने छ,” ओलीले भने ।

ओलीले बजेटले समस्याको पहिचान गर्न नसकेको र समाधान गर्न नचाहेको आरोप लगाएका छन् । उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पूजाबाट अर्थतन्त्र सुदृढ नभएको बताए । “संसारमा पूजापाठबाट अर्थतन्त्रको सुदृढ कहीँ पनि भएको छैन अर्थमन्त्रीज्यू । चाहनाबाट मात्रै हुँदैन,” ओलीको भनाइ छ, “प्रयासबाट हुने हो । प्रयास पनि योजनाबद्ध हुनुपर्छ ।”

ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्सीमा पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका छन् । बजेट बनाउने अघिल्लो रात अर्थ मन्त्रालयमा ‘अनधिकृत व्यक्ति प्रवेश गरेर करको दरमा हेरफेर गरेको’प्रति लक्षित गर्दै उनले व्यंग्य गरेका हुन् । ओलीअघि बोलेका अर्थमन्त्री प्रकाशशरण महतले बाध्यताका कारण बजेट टाइप गर्न रामकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिनुपरेको बताएका थिए । जवाफमा ओलीले विश्वले हवाईजहाज बनाउने र उडाउनेमात्र नभएर कम्युटर बनाउने मान्छे समेत पाइसक्दा हामीकहाँ भने बजेट टाइप गर्ने मान्छे नपाएको भन्दै व्यंग्य गरेका हुन् ।

“यत्रा वर्षमा हवाईजहाज मान्छेले बनाए, उडाउने पनि मान्छे बनाए । कम्युपटर बनाउने पनि, चलाउने पनि आए । आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । तर, यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन,” ओलीले व्यंग्य गरे ।