समाचार

मेयर साहले राखे कार्यकक्षमा ग्रेटर नेपाल को नक्सा



काठमाडौ,२५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नु भएको छ।
भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू(भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिनु भएको हो ।
महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई(तीन दिनअघि नयाँ नक्सा राखिएको हो । मेयर शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा हुनुहुन्छ। उहाँले भारतको बैंगलौर जानुअघि नक्सा राख्न निर्देशन दिनु भएको महानगरले जनाएको हो ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गर्नु भएको थियो । संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ। यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनानु भएन ।