राजनीति

देशमा भ्रष्टाचारको नांगो रुप देखिन थाल्यो : अध्यक्ष नेपाल



काठमाडौँ, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरेका छन् ।

आज काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताए ।

अध्यक्ष नेपालले भने, ‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भूटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।’

उनले जनतालाई पीडा दिने र शोसक सामन्तहरु र दलाल पुँजीहरु हाबी हुन पुग्ने र इमन्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताए । ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ’ उनले भने, ‘बिना पैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ, यसलाई परिवर्तन गर्न चाहन्छौँ ।’