राजनीति

शरणार्थी प्रकरणका अभियुक्त उम्किन सक्दैनन् : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ, २७ जेठ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकाले नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरू अदालतबाट समेत उम्किन नसक्ने बताएका छन् ।

नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार गृह मन्त्रालय पुगेका नागरिक आन्दोलनका प्रतिनिधिसँग गृहमन्त्री श्रेष्ठले सुशासन र जनसेवाका लागि आफू लडिरहने प्रतिबद्धता जनाए । राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचार नियन्त्रण तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।

उनले भने, ‘कतिले सधैं गृहमन्त्री होलास् र ? थुनिएकाहरू निस्किँदा तेरो के होला ? भन्ने गरेका छन्, ठोस तथ्य–प्रमाणबिना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग छ ।’

उक्त प्रकरणबारे भएको प्रहरी अनुसन्धान दौरान देखापरेका अनियमितताबारे प्रहरी, गृह मन्त्रालय र सरकारको जवाफदेही खोज्न तथा अदालती प्रक्रिया सुरु भइसकेकाले अनुसन्धान थप प्रभावकारी बनाउन आम नागरिकहरूका तर्फबाट माग गरिएका बृहत् नागरिक आन्दोलनका प्रतिनिधिले बताए ।