Banner News

नियमित रुपमा लेखापरीक्षण गराउन निर्देशन



काठमाडौँ, ५ असार । महालेखापरीक्षक टङ्कमणि शर्माले नियमित रुपमा लेखापरीक्षण गराएर हिसाबलाई पारदर्शी बनाउन समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखलाई निर्देशन दिए ।

महालेखा परीक्षकको कार्यालयले आज समिति एवम् प्रतिष्ठानका प्रमुख तथा लेखाप्रमुखसँग गरेको अन्तरक्रियामा प्रमुख शर्माले ऐन, कानुन र नियमावलीको अधिनमा रही प्रस्ट हिसाब राख्न निर्देशन दिए ।

उहाँले लेखापरीक्षकसँग बसेर तीन महिनाभित्र लेखापरीक्षण सक्न निर्देशन पनि दिए। आन्तरिक लेखापरीक्षण दिनानुदिन गर्नुहोस्, वार्षिक लेखापरीक्षण गर्न सजिलो हुन्छ, समयमा लेखा परीक्षण नगरेका कारण अनियमितता बढेको छ– उनले भने।

उहाँले कतिपय संस्थाले वर्षौंदेखि लेखापरीक्षण नगरेको भन्दै लेखापरीक्षण नगर्नुमा लेखापरीक्षकका कार्यालयका लेखापरीक्षकको भन्दा सम्बन्धित कार्यालयकै कमजोरी रहेको बताउनुभयो ।

महालेखा परीक्षकले निकालेको ५४औँ प्रतिवेदनमा २९ निकायअन्तर्गत रहेका एक हजार १९५ इकाईको लेखापरीक्षण गर्नुपर्नेमा आधा इकाईको पनि हुन नसकेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

समिति तथा प्रतिष्ठानमध्ये नगर विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, गरिबी निवारण कोष, प्रेस काउन्सिललगायत कार्यालयले नियमित लेखापरीक्षण गराएको र बेरुजु नरहेको बताइएको छ ।

यस्तै, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगायतका कार्यालयको धेरै बेरुजु रहेको छ ।