Banner News

प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम शुक्रवार हुने



काठमाडौँ, ५ असार । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रवार हुने गरी निर्धारण गरेको जानकारी दिए । उनले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य सङ्ख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए । उनले यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरूको पालो रहेको उनले जानकारी गराए ।

उनले भने, ‘प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम यही २०८० असार ८ गतेको बैठकमा हुने गरी निर्धारण गरेको ब्यहोरा जानकारी गराउँछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य सङ्ख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको ब्यहोरा जानकारी गराउँछु । नियम अनुसार प्रत्येक महिना प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा यसरी विभाजन गरिएको समूहमा रहेका सदस्यहरूले क्रमशः प्रश्न सोध्न सक्नुहुनेछ । र समूह १ मा रहेका माननीय सदस्यहरूले यस महिना प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम आजै दिनको पाँच बजेभित्र प्रतिनिधि सभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिन सक्नुहुने ब्यहोरा जानकारी गराउँछु ।’