समाचार

टिकटकबाट नजिक भई सुन चोर्ने पक्राउ



स्याङ्जा, ८ असार । भिडियाे शेयरिङ एप टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् ।

स्याङ्जा प्रहरीका अनुसार सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियाेहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३ बस्ने २४ वर्षीया कुसुम बिसी रहेकी छन । कुसुमले टिकटकबाट साथी बनाएकाहरूकाे घरमा गई कहाँ के राखेको छ, गोप्य समान कहाँ छन् भन्ने जानकारी लिएपछि चोरी गरी भाग्ने गरेको बताइएको । वालिङ नगरपालिका–६ एक्ले पिपलमा रहेकाे एक घरमा कुसुमले चोरी गरी भागेको उजुरी परेपछि चोरीको नयाँ तरिका बाहिर आएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले टिकटकबाट साथी बनेकाहरूकाे सुन चाेरी गर्ने पोखरामा लगेर पसलमा बेच्ने गरेकी थिइन् ।

पक्राउ परेकी कुसुमको साथबाट आधा तोला बराबरको बेरुवा औँठी एक थान र एक तोला बराबरको करुवा लकेटसहितको सिक्री एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।